जनकपुरधाम । सामुदायिक सुधार केन्द्र (सीआईसी), धनुषाले एसियामा समावेशी तथा दिगो सामुदायिक विकास र सामूहिक आवासको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप ‘कलेक्टिभ हाउजिङ अवार्ड २०२६’ प्राप्त गरेको छ।
संस्थाका निर्देशक संजयकुमार साहले सोमबार थाइल्यान्डका उपप्रधानमन्त्री तथा सामाजिक विकास र मानव सुरक्षा मन्त्रीको हातबाट उक्त प्रतिष्ठित पुरस्कार ग्रहण गरेका हुन्।
सीआईसीले गरिब, भूमिहीन, सीमान्तकृत तथा जोखिममा रहेका समुदायको सुरक्षित आवास, सम्मानजनक जीवनयापन र जीवनस्तर सुधारका लागि काम गर्दै आएको छ।

संस्थाले स्थानीय सरकार, समुदाय, नागरिक समाज तथा विकास साझेदारसँगको सहकार्यमा किफायती आवास, वातावरणमैत्री बस्ती र जलवायु उत्थानशील समुदाय निर्माणलाई प्राथमिकता दिँदै आएको जनाएको छ।
पुरस्कार प्राप्तिपछि निर्देशक साहले एसियाभरि सामूहिक विकासका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप सम्मानित हुन पाउँदा खुसी र गौरव महसुस भएको बताएका छन्।
उनले यो सम्मान संस्थाको सम्पूर्ण टोली, समुदायका सदस्य, विकास साझेदार र स्थानीय सरकारको सामूहिक प्रयासको प्रतिफल भएको उल्लेख गरेका छन्।
साहका अनुसार उक्त सम्मानले भूमिहीन तथा विपन्न समुदायको आवास अधिकार सुनिश्चित गर्न, समावेशी विकासलाई प्रवर्द्धन गर्न र सबैका लागि सुरक्षित तथा किफायती आवासको पहुँच विस्तार गर्न थप प्रेरणा दिएको छ।
संस्थाले आवासलाई घर निर्माणमा मात्र सीमित नराखी नागरिकको सम्मानजनक जीवन, सुरक्षा, समान अवसर र जीवनस्तर सुधारसँग जोडेर काम गर्दै आएको जनाएको छ।
पुरस्कारले समुदायको नेतृत्वमा आधारित आवास समाधान तथा दिगो सहरी र ग्रामीण विकासका लागि संस्थाको प्रतिबद्धतालाई थप बलियो बनाएको सीआईसीको भनाइ छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !