जनकपुरधाम, चैत १४ गते । नेपाली कांग्रेसका नेता एवं मिथिला नगरपालिकाका मेयर महेन्द्र महताेले प्रतिशाेधकाे भावनाले आफुमाथि कारवाही गरिएकाे आराेप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई सहयोग गरेको आरोप लगाउँदै क्षेत्रीय समितिले कारवाही गरेपछि मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले आफूलाई प्रतिशोधको भावनाले निशाना बनाइएको दाबी गरेका हुन् ।
मेयर महतोले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त निर्णय पार्टी विधानविपरीत र निराधार आरोपमा आधारित भएको बताए । उनले क्षेत्रीय समितिलाई कारवाही गर्ने अधिकार नभएको जिकिर गर्दै स्पष्टीकरण सोध्नेसमेत प्रक्रिया पूरा नगरी निर्णय थोपरेको आरोप लगाए ।
महतोले आफूविरुद्ध लगाइएको आरोप पुष्टि गर्न चुनौती दिँदै प्रमाणित भए पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
“यदि मैले रास्वपाको सदस्यता लिएको प्रमाण कसैले देखायो भने त्यही दिन म आफैं पदबाट हट्छु,” उनले भने, “तर आरोप झुटो सावित भए गलत निर्णय गर्ने नेतामाथि नै कारवाही हुनुपर्छ।”
उनका अनुसार पछिल्लो महाधिवेशनमा आफूले गगन थापा पक्षलाई सहयोग गरेको विषयलाई लिएर व्यक्तिगत प्रतिशोध साधिएको हो। साथै, आगामी निर्वाचनमा मेयरको दाबेदारी राखेका केही नेताको दबाबमा क्षेत्रीय समितिले कारवाही गरेको पनि उनले आरोप लगाए ।
महतोले निर्णय नमान्ने स्पष्ट गर्दै न्यायका लागि पार्टीको माथिल्लो तहदेखि कानुनी उपचारसम्म जाने तयारी रहेको बताए। यस घटनाले कांग्रेस धनुषाभित्र गुटगत विवाद थप चर्किएको छ।
नेपाली कांग्रेस धनुषा–४ क्षेत्रीय समितिको बैठकले नगरप्रमुख महतोमाथि ६ वर्षका लागि निलम्बनको निर्णय गरेको बताइएको छ। सोही निर्णयअनुसार बटेश्वर गाउँपालिका वडा नं. ३ का अध्यक्ष तथा पालिका अध्यक्ष राममणि महतो र मिथिला नगरपालिका वडा नं. २ का पार्टी सभापति अशेश्वर महतोलाई पनि पदबाट मुक्त गरिएको उल्लेख गरिएको छ। क्षेत्रीय समितिले उनीहरूले निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध लागेर रास्वपाका उम्मेदवारको प्रचार–प्रसार गरेको आरोप लगाएको थियो।
यसले प्रतिनिधि सभा निर्वाचनपछि नेपाली कांग्रेस धनुषा गुटबन्दीकाे आन्तरिक विवाद चर्किएको देखिन्छ । महताे सभापति थापा समुहका हुन भने कारवाही गर्ने समितिका अधिकांश पदाधिकारीहरू पुर्व सभापति देउवा समूहका हुन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !