लोक समाचारदाता
विरगंज, माघ ४ गते ।
प्रहरीले बारा जिल्लाबाट भारतीय नम्बर प्लेटको गाडीबाट १३ थान मोबाइल फोन र महिलाले नाक, कानमा लगाउने फुली तथा झुम्काहरू सहित ४ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कवहीगोठ र सशस्त्र प्रहरी बल बिओपीको टोलीले भारतीय नम्बर प्लेटको गाडीमा चेकजाँच गर्ने क्रममा ती सामानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी विकासराज खनालले बताएका छन ।
बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नं. ३ संतगञ्जस्थित सडकमा गढीमाई मेलाबाट फर्किदै गरेको सवारी साधन चेकजाँचको क्रममा भारतीय नम्बरको बलेरो पिकप गाडीको हुडमाथि लुकाईछिपाई राखेको अवस्थामा विभिन्न कम्पनीको १३ थान मोबाईल र महिलाहरूले नाक कानमा लगाउने पहेलो धातुको सानो फुली तथा रिङ समेत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
गाडीमा सवार महिला, पुरूष तथा बालबालिका समेत २२ जनामध्ये ४ जनालाई नियन्त्रणमा लिई म्याद थप गरिएको छ । बाँकी १८ जनालाई आवश्यक सोधपुछ छानबिन गरी जिम्मा जमानीमा छाडिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !