लोक समाचारदाता
जनकपुरधाम, पुस १९ गते ।
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले मैथिली भाषालाई नै प्रदेशको कामकाजी भाषा राख्नुपर्नेमा जोड दिदैं भाषा विकासमा एक अर्कालाई गाली वा दोषारोपन नगर्न आग्रह गरेका छन् ।
शनिवार प्रदेशका राजधानी जनकपुरधाममा आयोजित मैथिली विकास कोषको वार्षिकोत्सव तथा पुरस्कार समारोह कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख परियारले प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकोले कामकाजी भाषा मैथिलीलाई राख्नुपछै भन्दै प्रदेश सभाबाट पारित भएर आएर भने प्रमाणीकरणमा कुनै ढिलाई नगर्ने बताए ।
उनले सबैभन्दा पुरानो इतिहास बोकेका मैथिलीको संस्थागत बिकासका लागि प्रदेशसभा तथा प्रदेश सरकार स्वतन्त्र हुनुपर्ने भन्दै प्रतिपक्षी तथा सत्ता पक्षका प्रदेशसभाका सदस्यहरुले मैथिली भाषा प्रदेशको कामकाजी भाषा हुनेमा दुईमत नदेखिएको बताए ।
प्रदेश प्रमुख परियारले संविधान गतिशिल दस्तावेज भएको बताउदै तीन वटा विषय बाहेक संविधानको हरेक प्रावधानमा संशोधन गर्ने प्रावधान भएकोले कुनैपनि भाषाको विकासमा संविधान बाधक छ भने त्यसलाई संशोधन गर्न सकिनेछ र त्यसमा आफ्नो तर्फबाट हुने सहयोग जुनसुकै बेला पनि गर्न तयार छु ।
उनले प्रदेशको नामाकरण, राजधानी तथा भाषाको निर्णय प्रदेशसभाले चाडै गर्ने बताउदै यी निर्णयहरु प्रदेशका जनताको भावना अनुसार नै हुनेमा जोड समेत दिए ।
सो कार्यक्रममा मैथिली भाषा तथा साहित्यको क्षेत्रमा बिशेष योगदान दिनु हुने बुटवलका अध्यक्ष मुखिलाल चौधरी र जनकपुरधामका प्रा. डा. सुरेन्द्र लाभ सहित दुई जना श्रष्टालाई मैथिली विकास कोषबाट पुरस्कृत समेत भएको छ ।
कोषले सलहेश सांस्कृतिक पुरस्कार २०७५ बाट रुपन्देही जिल्ला निवासी तथा मैथिली साहित्य समाज नेपाल बुटवलका अध्यक्ष चौधरीलाई र डा. धिरेन्द्र साहित्य संस्कृति पुरस्कारबाट जनकपुरधामका प्राध्यापक डा. लाभलाई प्रदान गरेको हो । दुवै पुरस्ककृत श्रष्टालाई रु. ५१/५१ हजार नगद, सम्मानपत्र तथा दोसल्ला ओढाई प्रदेश प्रमुखले सम्मान समेत गरेको छ ।
मैथिली बिकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, राष्ट्रिय जनता पार्टीका प्रमुख सचेतक परमेश्वर साह, समाजवादी पार्टीका उपनेता रामअशिष यादव, नेकपाका रामचन्द्र मण्डल, शत्रुधन महतो, प्रमिला देवी दास, सम्मानित व्यक्तिहरु सुखिलाल चौधरी, प्राध्यापक डा. सुरेन्द्र लाभ, साहित्यकार रामभरोस कापडी भ्रमर लगायतका वक्ताहरुले मैथिली भाषाको बारेमा आ आफ्ना विचार राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !