जनकपुरधाम, असोज १९ गते । दुई दिनदेखि परिरहेको ठूलो पानीका कारण धनुषाको क्षिरेश्वर नगरपालिकाको सदरमुकाम महेन्द्रनगरलाई बाढीको ठूलो दुर्घटनाबाट प्रदेश सरकारका निवर्तमान मन्त्री शेषनारायण यादवको सक्रियतामा जोगाइएको छ ।
नगरपालिकाको वडा नम्बर स्थित पर्ने औरही खोलामा आएको बाढीको पानी महेन्द्रनगर शहरी र ग्रामीण क्षेत्रमा असर पार्ने गरी कटान गरिरहेको क्रममा जानकारी पाउनासाथ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको पहलमा निवर्तमान मन्त्री यादवले आफै सक्रिय भई सो स्थानमा प्राविधिक टोली लिएर पुगेर बचाउ गरेका छन् ।

निवर्तमान मन्त्री यादवले जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख श्याम साफीसहितका प्राविधिक टोलीले घटनास्थलमा पुगी डोजरले कटान हुने पानी बहाव क्षेत्रको दिशा परिवर्तन गरी तत्काल रोकथामका लागि नाइलन क्रिएट अर्थात जैविक तटबन्ध (प्लास्टिक बोरामा माटोले तटबन्धमा राखि नाइलन रस्सी बांध्ने) कार्य स्थानीय समेतको सहयोगमा गराएका छन् ।
उनको यो सक्रियताले महेन्द्रनगरका शहरी तथा ग्रामीण क्षेत्र सहित कयौं गाउँ जलमग्न तथा डुबान हुनबाट जोगिएको छ । उनलाई जानकारी हुनुअघि सो औरही खोलाको पानी बाटो कटान गरी सुकुम्बासी वस्तीको केही ठाउँमा बाढीको पानी छिरिसकेको थियो । मानवीय क्षति नभएपनि केही घरमा पानी पसेको बुझिएको छ ।

तिनीहरुको राहत तथा उद्धार कार्यका लागि सम्बन्धित पक्षसँग समनव्य तथा पहल भइरहेको उनले जनाएको छ । यो समाचार लेख्दासम्म बेलुका ८ बजेसम्म प्राविधिक टोली अस्थायी तटबन्ध निर्माण कार्यमै लागेको जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख साफीले जनाएको छ ।
सो अनुगमन टोलीमा निवर्तमान मन्त्री यादवसँगै स्थानीय जनप्रतिनिधिद्वय वडा नम्बर ७ का अध्यक्ष नथुनी मुबारक र वडा नम्बर १० का अध्यक्ष रामपदारथ यादव, कांग्रेसका नेताहरु मदन घिमिरे, रामनरेश महतो, घनश्याम यादव लगायत स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

यसैबीच क्षिरेश्वरनाथ नगरपालिककै वडा नम्बर ५ मा शान्तिपुर महेन्द्रनगर जोड्ने सडक खण्डमा खोलाले कटान गर्न सम्भावना रहेको क्षेत्रको समेत निवर्तमान मन्त्री यादवसहितका टोलीले अनुगमन गरेका छन् ।
त्यसको बचाउ तथा रोकथाम के कसरी गर्न सकिन्छ बारे वडाध्यक्ष जीवछ मण्डलसँग उनले छलफल समेत गरेका छन् । निवर्तमान मन्त्री यादवले खोलाले कटान गर्ने त्यस्तो कुनै खतरा महसूस भए रोकथाम तथा बचाउको सहयोगका लागि तत्काल सम्पर्क गर्न वडाध्यक्षलाई आग्रह गरेका छन् ।




















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !