जनकपुरधाम, असार २६ गते । मधेश प्रदेश सरकारले अहिलेसम्मकै सबभन्दा बढी बजेट चालु आर्थिक वर्षमा ७१ प्रतिशत खर्च गरेको छ । बुधबार (भुक्तानी हुने अन्तिम दिन राति १२ बजेसम्म) चालु आर्थिक २०८१/०८२ मा मधेश सरकारले अहिलेसम्मकै सबैभन्दा बढी रकम खर्च गरेको हो ।
गतवर्षको तुल्नामा यो रकम करिब १४ दशमलव २८ प्रतिशतले बढी हो । मधेश सरकारले गतवर्ष ५५ दशमलव ७५ प्रतिशत मात्र खर्च गर्न सकेको थियो । अन्तिम भुक्तानी अवधि असार २५ गते रातिसम्म चालु र पुँजीगत गरी ७१ दशमलव ४८ प्रतिशत बजेट खर्च भएको मधेश सरकारको अर्थ सचिव रामकुमार महतोले जानकारी दिए ।
मधेश सरकारले चालु आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो । पुँजीगत र चालु गरी ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार बजेट खर्च भएको सचिव महतोले बताए ।
उनका अनुसार पुँजीगततर्फ २८ अर्ब ६१ करोड २० लाख ७४ हजार बजेट रहेकोमा २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार खर्च भएको छ । यो पुँजीगत बजेटको कुल ७५ दशमलव ६४ प्रतिशत हो ।
यस्तै चालुतर्फ १५ अर्ब २८ करोड ९६ हजार बजेट रहेकोमा ९ अर्ब ८७ करोड ७३ लाख १२ हजार खर्च भएको छ । यो कुल चालु खर्चको ६४ दशमलव ६४ प्रतिशत हो । मधेश प्रदेश सरकारको यो खर्च विगतका आर्थिक वर्षको तुलनामा अहिलेसम्मकै उच्च हो ।
कुन मन्त्रालयको कति खर्च
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार अर्थ मन्त्रालयले ८३.३६ प्रतिशत र सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३४.०६ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यसैगरी, भौतिक पुर्वधार मन्त्रालयले ७८.२०, वन तथा वातावरण मन्त्रालय ७७.४५, खेलकुद तथा समाज कल्याण मन्त्रालय ६९.३१, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय ७५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४३.५५ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यसैगरी, शिक्षा तथा संस्कृति मन्त्रालय ७७.३१, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय ७३.६५, गृह, सञ्चार तथा कानुन मन्त्रालय ७२.२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ६५.५३ र श्रम तथा यातायात मन्त्रालयले ३८.१९ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
गत आर्थिक वर्ष ०८०/८१ मा मधेश प्रदेश सरकारले कुल बजेटको ५५.७५ प्रतिशत खर्च गरेको थियो । त्यसैगरी, आर्थिक वर्ष ०७९÷८० मा मधेश प्रदेश सरकारले ५७.४२ प्रतिशत बजेट खर्च गरेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !